प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

रिपोर्ट नेपाल | 2022 Mar 22 | 08:46 pm 2613

काठमाडाैं, चैत ८ः प्रधान सेनापति महारथी प्रभुराम शर्माले मंगलबार दाङ्ग जिल्लाकाे घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्ग जिल्लास्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी जिल्ला, दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गर्नुभई अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए ।

मध्य कमाण्ड हेडक्वार्टर र पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गतका युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेएका प्रधान सेनापति महारथी शर्माले मिति २०७८ चैत ९ गते बाजुरा जिल्लास्थित श्री दुर्गाभञ्‍जन गुल्मको निरीक्षण भ्रमण र श्री नं. ५ बाहिनी अड्‍डामा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” को उद्‍घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

साथै, प्रधान सेनापति महारथी शर्माले मिति २०७८ चैत्र १० गते डोटी जिल्लास्थित रुद्रध्वज गणको निरीक्षण भ्रमण र धनगढीस्थित श्री भवानीदल गणमा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” मा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.