व्यापार घाटा घटाउने गरी नीति बनाउन सम्बद्ध सबैलाई प्रधानमन्त्रीकाे निर्देशन

रिपोर्ट नेपाल | 2022 Mar 22 | 05:49 pm 1009

काठमाडौं, चैत ८ः प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’’

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गरेका थिए । उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले भने, ‘‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युतको खपत बढाउनुपर्ने अवस्था छ ।’’

उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.