भक्तपुरमा चन्दा मागेको आरोपमा चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 28 | 06:41 pm 1619

भक्तपुर, साउन १२: प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाएका छन्।

भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले चन्दा नदिएकै कारण आफूलाई धम्क्याउने र फसाउने काम गरेको आरोप लगाएका हुन्।

पत्रकार सम्मेलनमा शिलाकारले भने, “२०७४ साल माघमा शाहले मसँग रु २० लाख चन्दा माग्नुभयो, त्यति ठूलो रकम दिन सक्दिन भनेँ, त्यसपछि पुनःगत साउन १ गते उहाँले आफैँ फोन गरेर फेरि चन्दा माग्नुभयो, मैले दुई लाखभन्दा बढी नदिने भनेपछि उहाँले धम्क्याउनुभयो ।”

घटनाबारे कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज यादवलाई जानकारी गराएपछि घटनाको छानबिन गरी शाह नै दोषी पाएपछि प्रहरीले व्यवसायीलाई चन्दा नदिन र निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएपछि शाहले प्रहरी उपरीक्षक यादवलाई समेत बद्नाम गराउने प्रयास गरेको उनको भनाइ थियो ।

प्रहरीले उद्योगभित्र जबर्जस्ती प्रवेश गरेर मल झार्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणि त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाएको बताएको छ ।

प्रहरी उपरीक्षक यादवसँग फोनबाट सम्पर्क गर्दा घटनामा प्रतिनिधिसभा सदस्य शाहले चन्दा माग गरेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.