काठमाडौँ, फागुन ३०ः अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा उनले भने, “अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले केही वस्तुको आयातमा मार्जिन राखेका हौँ ।
” यो निर्णयले भन्सार शुल्क सङ्कलन प्रभावित हुने भए पनि यो सधैँका लागि नभएको उनले स्पष्ट पारे । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने उनले बताए । उनले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्ने बताए।
भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, पछिल्ला नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका निर्वाह गर्न गोष्ठी प्रभावकारी हुने उनले बताए । मन्त्री शर्माले वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।
भन्सार कार्यालयहरूमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने अर्थमन्त्री शर्माले जानकारी दिए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उनको निर्देशन थियो । माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकामा उनले खुसी व्यक्त गरे ।
सो अवसरमा भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब पाँच अर्ब राजस्व सङ्कलनको लक्ष्य भए पनि तीन खर्ब आठ अर्ब रुपियाँ सङ्कलन भएको जानकारी दिएका थिए । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । गाेरखापत्र दैनिकबाट