काठमाडाैं, फागुन २९ः ग्यास उद्योग र विक्रेताले ग्यासमा दिइँदै आएको कमिसन बढाउन माग गरेका छन् । लामो समयदेखि कमिसन वृद्धि नभएको र लागत तथा मजदुर खर्च बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरूले कमिसन बढाउन माग गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित ग्यास विक्रेता महासंघको आठौँ साधारणसभामा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यवसाय सञ्चालन गर्न कठिन भएकाले समयअनुकूल विक्रेता कमिसन बढाउनुपर्ने बताए । निगमले अहिले विक्रेता कमिसन प्रतिसिलिन्डर ४२ रुपैयाँ दिँदै आएको छ । लगानीको आधारमा ६ प्रतिशत कमिसन बढाउनुपर्ने उनको भनाइ छ । यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ९७ रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य हुने बेलाको ढुवानी कमिसन अहिले डिजेलको मूल्य बढेर १३३ हुँदा पनि नबढेको भन्दै बढाउन माग गरे ।
ढुवानी भाडा बढेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले व्यवसायीका जायज माग सम्बोधन गरिने बताए ।
नेपाल आयल निगमलाई सबैभन्दा धेरै घाटा खाना पकाउने एलपीजी ग्यासमा रहेको उनले बताए । पछिल्लो १५ दिनमा ग्यासको घाटा १ अर्ब २६ करोड ३७ लाख रहेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि प्रतिसिलिन्डरमा ६ सय ६५ रुपैयाँ घाटा भएको हो । ग्यासको खरिद मूल्य २ हजार २ सय ४० रुपैयाँ रहेकोमा बिक्री मूल्य भने १ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको स्थानीय बजारमा पर्न गएको हो ।
एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएपछि स्थानीय बजारमा पनि त्यसको असर परेको छ । चालू आर्थिक वर्षमा निगमले ग्यासमा तीन पटक मूल्य बढाएको छ । गत असार महिनामा प्रतिसिलिन्डर १ हजार ४ सय २५ रुपैयाँ रहेको ग्यासको मूल्य भदौमा प्रतिसिलिन्डर ५० रुपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ । यस्तै कात्तिक महिनामा ५० रुपैयाँ बढेर प्रतिसिलिन्डर १ हजार ५ सय पुगेको थियो । कात्तिकमै बढाएर १ हजार ५ सय ७५ पुगेको थियो । पछिल्लो समय ग्यासको खपत बढ्दै गएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएकाले खपत बढ्दै गएको हो । निगमका अनुसार ग्यासको मासिक कोटा ४५ हजार टन रहेको छ । काराेबार दैनिकबाट