ग्यास सस्तिएपछि प्रयोगकर्ता बढे

रिपोर्ट नेपाल | 2022 Mar 10 | 07:38 am 1225

हुम्ला, फागुन २६ः सुरुमा मूल्य महँगो हुँदा सीमित घरधुरीले प्रयोग गर्ने खाना पकाउने ग्यासको मूल्य अहिले सस्तिएको छ । पहिलेभन्दा आधा मूल्य सस्तो भएपछि ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसअघि प्रतिसिलिन्डर करिब १४ हजार रुपियाँ पर्ने ग्यास अहिले छ हजार रुपियाँमै पाइन्छ । कर्णाली कोरिडोर हुम्लाको सलीसल्लासम्म जोडिएपछि ग्यासको मूल्य सस्तिएको हो ।

स्थानीय गृहिणी सुशीला रोकायाले ग्यास प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको बताए । उनले आफूले ग्यासको मूल्य प्रतिसिलिन्डर साढे छ हजार रुपियाँमा गाउँमै पाउन थालेपछि जडान गरेको जानकारी दिए । उनले सुरुका दिनमा  औंलामा गन्न सकिने परिवारले मात्र ग्यास चुलो प्रयोग गर्दै आएकोमा अहिले त्यो सङ्ख्या ५० प्रतिशतले बढेको बताए । सुरुमा ५० परिवार रहेकोमा अहिले तीन सय परिवारले ग्यास चुलो प्रयोग गरिरहेका बताए ।

ग्यास खरिद गर्नेको सङ्ख्यासमेत वृद्धि भइरहेको ग्यास बिक्रेताले जनाएका छन् । पहिलो पटक ग्यास प्रयोग गर्नेले प्रतिसिलिन्डर साढे १४ हजार रुपियाँसम्म तिर्नु परेकोमा अहिले साढे छ हजार रुपियाँ मूल्य रहेको छ । ग्यास व्यापारी लोकेन्द्र शाहीले कर्णाली कोरिडोर हुम्लाको सलीसल्लासम्म जोडिएपछि ग्यासको मूल्य सस्तिएको बताए । पहिले मुगुको गमगढीबाट खच्चडमा चार पैदल ढुवानी गरेर ल्याउनुपर्दा महँगो पर्ने गरेको बताउँदै उनले अहिले कम लागत आउन थालेपछि मूल्य घटेको जनाए ।

उनले अझै सलीसल्लामा कर्णाली नदीमाथि पुलको व्यवस्था हुन सके यातायात दुल्लीकुनासम्म आउने हुँदा अहिलेको मूल्यबाट पनि आधा कम हुने जानकारी दिए । सदरमुकाम सिमकोटभन्दा दक्षिणी क्षेत्रका गाउँपालिकाका सडकले जोडिएका बस्तीमा चार हजार पाँच सयमा ग्यास पाउने गरेको छ । मूल्य घटेपछि ग्यास व्यापारीको सङ्ख्या पनि वृद्धि भएको छ । हुम्लामा सुरुमा ग्यास प्रयोगकर्ता दुई जना व्यापारी भएकोमा अहिले त्यो सङ्ख्या १२ भन्दा बढी रहेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.