भीमदत्तनगर, साउन १२ : भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् । इलाका प्रहरी कार्यालय दोधाराको अनुसार बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरेको हो ।
लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका– ९ प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका– १ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।
अर्धचेत अवस्थामा रहेका तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘बनवासा पुल नजिकै पेयपदार्थ (चिसो) खुवाएर हामीलाई कता लगे थाहा नै पाएनों ।’ गौरभले भने –“लुटेर समूह तीनजना नेपाली भाषी नै थिए ।” लुटेराहरुले आफूसित रहेको नगद, मोबाइल सेटका साथै अन्य सरसामान लुटेर लगेको उनले बताए ।