महिलाले योगदानअनुसारको जिम्मेवारी पाउनुपर्छ : डा.राणा

रिपोर्ट नेपाल | 2022 Mar 09 | 07:11 am 1617

काठमाडौँ, फागुन २४ः नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले महिलाहले योगदानअनुसारको जिम्मेवारी पाउनु पर्ने बताएकी छन् । महिला–पुरुषको समान सहभागितामा सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा उनको जोड छ ।

माइती नेपालले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. राणाले महिलाहरू महत्त्वपूर्ण भूमिकामा रहे पनि त्यस अनुसारको सम्मान र व्यवहार भएको छ कि छैन भन्ने कुराको समीक्षा गर्नु पर्ने बताइन् ।

उनले भनिन्, “महिलाहरूको भूमिका प्रभावकारी नभएसम्म दीगो विकास सम्भव छैन । हामी भूमिका महत्त्वपूर्ण छौँ । तर, समाजले र सरकारले हाम्रो भूमिका स्वीकार गरेको छ कि छैन । भूमिका अनुसार हाम्रो स्थान भएको छ कि छैन भन्ने कुराको समीक्षा गर्ने दिनका रुपमा महिला दिवसलाई दिनुपर्छ ।”

अन्तर्राष्ट्रिय रुपमा पनि एक वर्षमा के भयो र अब के गर्ने भन्ने कुराको निर्धारण गर्न महिला दिवस मनाइने उनको धारणा छ । महिला सशक्तिकरणका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य यसैदिन प्रारम्भ गर्नुपर्ने उनको भनाइ छ ।
डा. राणाले माइती नेपालकी संस्थापक कोइरालाले समाजका लागि प्रेरणादायी काम गरेको बताइन् । उनले भनिन्, “अनुराधा दिदीको काम एकदमै युनिक छ । उहाँ उर्जाशील हुनुहुन्छ । दिनरात खटिने गर्नुहुन्छ । धेरैको जीवन निर्माण गर्नु भएको छ । यसका लागि उहाँलाई सम्मान छ ।”

सम्मान पाउँदा भावुक
गुल्मीमा कार्यरत नर्स लीला थापा कोभिड–१९ प्रकोप उत्कर्षमा हुँदा कोभिडविरुद्धको खोप लगाउन अपिल गर्दै गाउँ–गाउँ पुगिन् । कतिपय ज्येष्ठ नागरिकहरू खोप केन्द्र वा स्वास्थ्य संस्थामा जान नसक्ने अवस्थामा थिए । नर्स थापाले बोकेरै उनीहरूलाई खोप केन्द्रमा पुर्‍याए पछि त्यसबेला उनले धेरैतिरबाट स्याबासी पाइन् । तर, मङ्गलबार उनका लागि निकै अविस्मरणीय पल रह्यो । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्यकर्मी थापालाई काठमाडौँमै बोलाएर सम्मान गरेको हो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले थापासहित विभिन्न क्षेत्रको सक्रिय ४ जना महिलालाई संयुक्त रुपमा सम्मान गरेका छन् ।

कोभिड प्रकोपमा अग्रपङ्क्तिमा खटिनु भएकी भेरी अस्पतालकी नर्स शिला शर्मा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल र कोभिड प्रकोपका ५ लाखभन्दा धेरै सर्वसाधारणलाई खाना खुवाउने अभियान सञ्चालन गर्नु भएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरलाई माइती नेपालले सम्मान गरेको हो ।

गायक पुष्पन प्रधानकाे सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा माइती नेपालमा संरक्षित बालिकाहरूले महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्डसहित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.