डडेल्धुरा, फागुन २२ः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गरेका छन् ।
तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने बताउँछन् । स्थानीय तह निर्वाचनमा पार्टी एकताबद्ध हुन नसकेमा सातवटै स्थानीय तहमा पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
डडेल्धुराको सातौं जिल्ला अधिवेशन एकलौटी रूपमा सम्पन्न गराएर कांग्रेस डडेल्धुराका तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाइपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लास्तरीय नेतासँग एकताको परामर्श थालेका हुन् । डडेल्धुराको पाँचौं र छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधि हुनबाट समेत रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाइएका क्रियाशील सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका खेलेका कांग्रेस सभापति देउवाले तत्कालीन जिल्ला कार्यसमितिको बहिष्कारका बीच एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गराएका थिए । उनले नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायी भीमबहादुर साउदलाई कांग्रेस डडेल्धुराको सभापति बनाउन सघाएका थिए । छलफलमा सहभागी जिल्लास्तरीय नेताहरूका अनुसार जिल्लास्तरमा क्रियाशील कांग्रेस नेताहरूसँग छलफल शुरु गरे तापनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्ल्याउने सोचमा परिवर्तन गरेका छैनन् ।
जिल्लास्तरीय नेता कार्यकर्ताको अभिभावक बन्नुपर्ने सभापति देउवाले कसैलाई काखा र कसैलाई पाखा लगाउने रणनीति अवलम्बन गरेकै कारण डडेल्धुरा कांग्रेसमा द्वन्द्व बढेको टिप्पणी गर्दै कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भने– ‘विधि प्रक्रिया मिचेर केन्द्रबाटै मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गर्दै जिल्लाको संस्थापन पक्षलाई बाइपास गरिएको हो ।’
सातौं जिल्ला अधिवेशनका क्रममा नेपाली डडेल्धुराका तत्कालीन सभापति मल्ल पक्षबाट जिल्ला सभापतिको उम्मेदवार बन्न आंकक्षी रहेका डडेल्धुरा कांग्रेसका बौद्धिक नेता हरिप्रसाद भट्टलाई एकपक्षीय रूपमा सभापति बनाइएका साउदसँगै राखेर शुक्रबार प्रधानमन्त्री देउवाले बूढानीलकण्ठस्थित निवासमा छलफल गरेका छन् ।
यसअघि पनि प्रधानमन्त्री देउवाले जिल्लास्तरीय नेताहरूलाई बोलाउँदै छलफल गर्दै आएका थिए । तर, आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रधानमन्त्री देउवाले गृहजिल्लामा पार्टीभित्र देखिएको विवाद समाधान गर्न सक्रियता बढाएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नेपाल समाचारपत्रबाट