कास्की, फागुन १६ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ ।
संसदबाट एमसीसी अनुमोदन भएको विरोधमा घोषणा गरिएको बन्दका कारण पोखरामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन् भने निजी सवारीसाधन फाटफुट रूपमा मात्र चलेका छन् ।
पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिएको र पोखरा लगायत कास्कीमा हालसम्मको अवस्था सामान्य रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले बताए ।