कोरिया प्रवेश पुनः सुरु

| 2022 Feb 28 | 07:53 am 1109

काठमाडाैं, फागुन १६ः रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश गरेको जानकारी दिए ।

कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ । १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । कोरिया प्रवेशअघि क्वारेन्टाइन बसे नबसेको, स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा एचआरडी कोरिया ईपीएस सेन्टर नेपाल र शाखा कार्यालयबाट अनुगमन गरिने भएको छ ।

कोरिया प्रवेश गर्ने युवाले कोभिड–१९ खोप कार्ड वा क्यूआर कोड प्रमाणपत्रको प्रतिलिपि र दक्षिण कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख बीस हजार कोरियन वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात् १ लाख १९ हजार रुपैयाँ पनि आवश्यक पर्ने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट अनिवार्य रूपमा डेबिट कार्ड लिनु पर्नेछ । कोरियामा क्वारेन्टाइनमा चेकइन गर्ने बेलामा नै कार्डबाट भुक्तानी गर्नुपर्ने भएकाले कार्ड सञ्चालन भए नभएको नेपालमै यकिन गरेर जानसमेत अनुरोध गरिएको छ ।

कोरिया प्रवेश गर्नुअघि सम्बन्धित एयरलाइन्सले जारी गरेको प्रोटोकलअनुसार प्रस्थान गर्नुभन्दा कम्तिमा १ सय २० घण्टा (५ दिन) अगाडि पीसीआर परीक्षण गर्नुपर्ने छ । पुनः हवाई उडानमा प्रस्थान गर्नुभन्दा २४ घण्टा अगाडिको कोभिड परीक्षण क्वारेन्टाइन बसेकै स्थानमा गरिने भएको छ । परीक्षणमा पोजेटिभ देखिएमा सम्बन्धित युवाको उडान स्थगित हुने जनाइएको छ । साथै, एयरपोर्टमा उडानभन्दा ५ घण्टा अगाडिको एन्टिजेन्ट परीक्षण कामदार स्वयंमले गर्नु पर्नेछ । उक्त परीक्षणमा कोभिड पोजेटिभ देखिएको व्यक्तिको उडानसमेत स्थगित हुनेछ ।

बढ्दो कोभिड महामारीका बीचमा नेपालबाट दक्षिण कोरिया कामदार पठाउने कार्य भइरहेको जनाउँदै यसको व्यवस्थापनमा सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ । यो वर्षको कात्तिक महिनादेखि हालसम्ममा ४१ जना कामदारमा दक्षिण कोरियामा पुगिसकेपछि कोभिड रिपोर्ट पोजेटिभ देखिसकेको हुँदा आगामी दिनमा थप सावधानी अपनाउनु पर्ने शाखाले जनाएको छ । तोकिएको मितिको उडानबाट दक्षिण कोरिया प्रस्थान गर्ने यात्रीमध्ये तीन जनाभन्दा बढीमा कोरोना रिपोर्ट पोजेटिभ भएको अवस्थामा सो पछिका उडान स्थगित हुनसक्ने सम्बन्धित एयरलाइन्सबाट जानकारी प्राप्त भएकाले थप सचेत भई सावधानी अपनाउनु पर्ने जनाइएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.