चैतमै मेलम्चीको पानी वितरण हुने

| 2022 Feb 28 | 07:33 am 1621

काठमाडौँ, फागुन १६ः खानेपानीमन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ ।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउन् भन्ने चाहना सरकारको रहेको स्पष्ट पारे । २०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो ।

उनले संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महìवपूर्ण हुने चर्चासमेत गरे ।

संस्थानले आफ्नो सेवालाई मुलुकभरि विस्तार गर्नुपर्ने बताउँदै उनले यसका लागि तत्काल सर्वेक्षण (सर्वे) कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशनसमेत दिए । सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे । अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ । दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी संस्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अबको दिनमा परम्परागत ढङ्गले खानेपानी संस्थान अगाडि बढ्न नसक्ने बताउँदै संस्थान व्यावसायिक र प्रतिस्पर्धी हुन सकेन भने हरेक नागरिकलाई गुणस्तरीय पानी उपलब्ध गराउने संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि सरकारले यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराउन सक्ने स्पष्ट पारे ।

खानेपानी संस्थानको सेवा नागरिक मैत्री हुन नसकेको आम गुनासो रहेको चर्चा गर्दै उनले भने, “अहिले संस्थानको पानी चुहावट ४५ प्रतिशत छ । यस्तो अवस्थामा संस्थान कसरी उँभो लाग्न सक्छ । ’” उनले चुहावटलाई १५ प्रतिशतमा झार्न संस्थान व्यवस्थापनलाई निर्देशनसमेत दिए । उनले पारदर्शिता, मितव्ययिता र व्यावसायिकतालाई मूलमन्त्र मानेर काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गुणखर भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिकी सदस्य नीरकुमारी कुँवर, संस्थानका महाप्रबन्धक ईश्वरप्रसादलगायतले संस्थानले चालू आर्थिक वर्षमा संस्थानको सुधारका लागि भएका कार्यको विवरण प्रस्तुत गरेका थिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.