काठमाडौं, फागुन ११ः नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी र ओ.टी. भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गरेका छन् । बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त
भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गरे । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
बेवारिसे कार सशस्त्र प्रहरीद्वारा बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका २५ स्थित आईसीपी गेट ईलाकाबाट सशस्त्र प्रहरीले करीव १० लाख मुल्य बराबरको कार बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको डिएल ४ ईएस ५६९४ भारतीय नम्बरको कार सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँबाट बरामद गरेको हो । बरामद कार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।
लाखौको विभिन्न अवैध सामान बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित गमहरिया चोकबाट बुधबार सशस्त्र प्रहरीले करीव २ लाख ८८ हजार रपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । मलंगवाबाट नवलपुतर्फ जाँदै गरेको ना ८ ख १४१८ नम्बरको महेन्द्रा पिकअप गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा बिलबिजक भन्दा फरक विभिन्न किराना सामान बरामद गरेको हो ।
यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको
चोरीपैठारीको ३ वटा आईफोन मोवाईल बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सशस्त्र
प्रहरी बल, नेपाल बिओपी डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ कालिझोडास्थित पूर्व–पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।