काठमाडाैं, फागुन १०ः कोरोना भाइरस रोग कोभिड—१९ को तेस्रो लहरको सामना पनि हामीले गर्यौं। पहिलो लहरै भित्रिँदैन भन्ने एक किसिमको विश्वास (अन्ध) थियो धेरै नेपालीमा। त्यसमा देशका शासक पनि थिए। हुन्थेनन् भने विश्वमा महामारी फैलिरहेका बेला पर्यटनमन्त्री अस्ट्रेलियामा नेपालको पर्यटनको प्रचार गर्न पुगेका हुँदैनथे। कठै नेपालका शासकको हविगत ! विश्वले त्यसै भनेर गिज्याएको थियो। हुने हार दैव नटारको शैलीमा कोरोना पनि नेपाल भित्रियो। दसौं हजार नागरिकको ज्यान लियो। पहिलो, दोस्रो र तेस्रो लहरले ढाक्यो। अहिले तेस्रो लहर मत्थर भइसकेको छ। सौभाग्य मान्नुपर्छ कि अहिले देशभरिका अस्पतालमा कोरोना बेडहरू रित्ता छन्।
आइसोलेसन र भेन्टिलेसन भएका सघन उपचार कक्षहरू कम्तीमा कोरोना संक्रमितविहीनजस्तै सुनसान छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिले औसत संक्रमणदर ३ दशमलव ५ प्रतिशत छ।
तीन सातायता संक्रमण दर घट््ने क्रममा छ। पहिलो र दोस्रो लहर यति चाँडो मत्थर भएको थिएन, जति तेस्रो लहर भयो। तेस्रो लहरले संक्रमितमध्ये थोरैको पनि ज्यान लियो। त्यसो त धेरै नेपालीले खोप पनि पाइसकेका थिए। खोप लगाएकाहरू नै तेस्रो लहरमा संक्रमित भएका थिए। जसले दुई डोज लगाएका थिए, ती पनि संक्रमित थिए। यसले के देखाउँछ भने खोपले पूरै काम गर्न सकेको थिएन र छैन। विज्ञले पनि खोपले शतप्रतिशत रोकथाम गर्न भनेका होइनन्। उनीहरूले भनेजस्तै निकै कम कठिन अवस्थाचाहिँ बिरामीहरूको भएकै थियो। पहिलो लहरमा सासै फेर्न कठिन हुने जटिल समस्या धेरै भयो। अक्सिजन दिन नपाउँदा धेरै बिरामीले ज्यान गुमाए। तेस्रो लहरमा अक्सिजनै दिनुपर्ने बिरामी कम भए। खोप आविष्कार गर्ने वैज्ञानिकहरूलाई मुरीमुरी धन्यवाद। उनीहरूले मानव मृत्युदरलाई घटाइदिए। लाखौं, करोडौं मानवलाई जीवनदान दिए।
नेपालमा पनि ६० दशमलव ५ प्रतिशतले पूरै दुई डोज खोप लगाइसकेका छन्। बाँकी संख्या पनि कम्ती होइन। विकसित देशहरूमा खोपमै विरोध भइरहँदा त्यतिका नेपालीले खोप पाउनु र पाए जति नेपाली लगाउन राजी हुनु सकारात्मक हो। सरकारले जति खोपको व्यवस्था गर्न सक्यो, त्यसमा धन्य हुनैपर्ने अवस्था चाहिँ छ। सन्तोष त्यसमा मान्न सकिन्न, पूरापूर नेपालीलाई खोप लगाउने व्यवस्थालाई तीव्रता दिन सरकारले कन्जुस्याइँ गर्नुहुन्न। अब मानिसहरूको भीडभाड हुने गतिविधि पनि आउँदैछ, चुनाव। दलहरूका सभा, समारोह, जुलुस र निर्वाचनै पनि मानिसहरूको भीड लाग्ने गतिविधि हुन्। सरकारले त्यस मानेमा खोपको संवेदनशील आवश्यकता मनन् गर्न जरुरी छ। अर्कातिर सर्वसाधारण नेपाली जो खोप लगाएका छौं, र लगाउन बाँकी छौं दुवैथरी अझै सतर्क नभई सुखै छैन। एक त स्वास्थ्य सचेतना खासमा पनि सरसफाइ अरू बेला पनि उत्तिकै महत्त्वपूर्ण छ।
झन् कोभिडबाट बच्ने हो भने त फुक्काफाल हुनै हुँदैन, साबुनपानीले हात धोइरहने, मास्क लगाउन नछोड्नेलगायत सुरक्षा कवच छुटाउनु हुँदैन। तर कतिपयको पारा हेलचक्र्याइँ गर्ने छ, यस्तो देखिन्छ कि अब कोरोना भाइरस विश्वबाट लोप भइसक्यो। जसो गरे पनि हुन्छ भन्दै फुक्काफाल भएर हिँडिरहेका छौं। होस् गरौं, स्वास्थ्य मापदण्ड पालना गरिराखौं। संक्रमण आफैं भोगेर सिक्ने पाठ हुनु हुँदैन। त्यसैले फुक्काफाल हैन, सतर्क बनौं। ग्यारेन्टी छैन कि फेरि चौथो वा पाँचौं, छैटौं गर्दै लहरका लहर आउँदैन, भाइरसले रूप फेरिफेरि हाम्रो स्वास्थ्य जटिल बनाउँदैन, हाम्रो जीवन खोस्दैन। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट