औद्योगिक कोरिडोर बन्दै गनापुर

रिपोर्ट नेपाल | 2022 Feb 19 | 08:32 am 1445

बाँके, फागुन ७ः बाँके जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा ठूला उद्योग खुल्ने क्रम बढ्दै गएको छ । औद्योगिक कोरिडोरका रूपमा विकास हुँदै गएको जानकी गाउँपालिका–६, गनापुरमा ६३ वटा ठूला उद्योग सञ्चालनमा रहेका छन् भने नयाँ उद्योग खुल्ने क्रम पनि जारी छ ।

गनापुर औद्योगिक क्षेत्रका रूपमा विकास भइरहेको सो गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन्। उनले नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएको बताइन् ।

लगानीकर्ता आकर्षित हुन थालेपछि गाउँपालिकाले पूर्वाधार विकासमा थप लगानी गरिरहेको छ । गनापुरमा उद्योग स्थापना हुने क्रम बढेसँगै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको जानकी–६ का वडाध्यक्ष सुरेश यादवले जानकारी दिए ।
गनापुर क्षेत्र कोहलपुर–नेपालगञ्ज राजमार्गमा जोडिएको र नेपालगञ्जबाट नजिक भएकाले यहाँ उद्योग थपिने क्रम बढ्दै गएको उनले बताए । गनापुरदेखि पश्चिम जाने बाटोको दुवैतर्फ लहरै उद्योग स्थापना भएका छन् ।

यस क्षेत्रमा ठूला उद्योगका साथै सवारीसाधनका सोरुम, ठूला र स्तरीय होटल रहेका छन् । नेपालगञ्जमा ठूला उद्योग स्थापना गर्न जमिनको अभाव रहेको र अति नै महँगो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको बताए। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.