बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…

रिपोर्ट नेपाल | 2022 Feb 19 | 08:19 am 1905

कास्की, फागुन ७ः पोखरा पुग्नेहरू अन्नपूर्ण हिमशृंखलालाई पृष्ठभूमिमा पारेर बनाउने टिकटक र भिडियोमा गीत छनोट गर्छन्,–

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्…

फोटो खिच्ने र हिमाल हेर्दै रमाउनेहरू पनि रामकृष्ण ढकालको स्वरमा गुञ्जिने उक्त गीत गुनगुनाइरहेको देखिन्छ। सामाजिक सञ्जालमा भेटिन्छन्। स्वदेशी पर्यटक मात्र होइनन् पोखरेलीहरू पनि फेवातालमा अन्नपूर्ण, माछापुच्छे« हिमाल तैरिएको भिडियो खिचेर रमाउँछन्। सामाजिक सञ्जालले हिमालको ताजा दृश्यलाई गीत पुरानो भए पनि जीवित बनाएको छ।

बिहान उठ्नासाथ दैनिकजसो हिउँले सेताम्मे भएका हिमालमा आँखा ठोक्किए पनि धेरै पोखरेलीका लागि हिउँ छुने र हिउँ खेलेर रमाउने रहर नै बनेको छ। पर्यटकीय सहर पोखराबाट अन्नपूर्ण हिमशृ‌खलाको हवाई दूरी २५ किलोमिटर मात्र छ। समुद्री सतहदेखि ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथमदेखि ६ हजार ९ सय ९३ मिटर उचाइको कुमारी माछापुच्छे् हिमालको सुन्दर दृश्य देखेका धेरै पोखरेलीको रहर अझै पनि हिउँ खेलेर रमाउने नै भेटिन्छ।

पोखरामा हुँदा हिउँ खेल्ने दुईदेखि तीन दिन लगाएर कि कास्कीकै मर्दी हिमाल पुग्नु पर्छ। कि त ४ देखि ५ दिने लगाएर अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण आधारशिविर जानुपर्छ। पछिल्लो समयमा विकासको क्रममा पोखराबाट २१ मिटर दूरीमा रहेको कास्कीको पर्यटकीय गाउँ ताङतिङसम्म कच्ची सडक पुगेको छ। डेढ वर्षअघि पर्यटकीय गाउँ ताङतिङदेखि १० किलो मिटर दूरीमा रहेको क्रपुडाँडासम्म कच्ची सडक पुगेसँगै हिउँ खेल्ने आउने पोखरेली र विभिन्न जिल्लाको आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ। पोखराबाट एक दिनमा नै हिउँ खेलेर फर्कन सक्ने भएपछि पोखरेली युवायुवतीहरूको रहर पूरा हुन थालेको छ।

गत सोमबार पोखरा-११ फूलबारीकी सोलोनी पुन र उनको साथीहरू क्रपुडाँडामा हिउँ खेलेर फर्किए। सोलोनीले क्रपुडाँडामा आएर जीवनमै पहिलो पटक हिउँ खेल्न पाएकोमा निकै खुसी लागेको सुनाइन्। अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्दै हिउँ खेल्न पाइने भएकोले पनि यहाँ हिउँ खेल्दा जीवनकै रमाइलो क्षणको रूपमा आफूले लिएको उनले बताइन्। सोलोनीले तीन दिनअघि सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको क्रुपडाँडामा हिउँमा रमाएको भिडियो शुक्रबार दिउँसो सम्म ७५ हजार ७ सयभन्दा बढीले हेरिसकेका छन्। यस्ता सफलतामा युवा रमाउँछन्।

सोमबार नै लमजुङको मध्यनेपाल नगरपालिकाका प्रिन्स राना र उनका आठ जना साथीहरू क्रपुडाँडामा हिउँ खेल्न पुगे। सामाजिक सञ्जालमा सुन्दर हिमालको दृश्यसँगै हिउँमा रमाएको भिडियो र तस्बिर देखिपछि हिउँ खेल्न क्रपुडाँडा पुगेको उनले सुनाए। प्रिन्स र उनका साथीहरू एकै दिनमा क्रपुडाँडा पुगेर हिउँ खेलेर फर्केका थिए।

यो स्थानमा गत पुसदेखि हिउँ पर्न थालेको हो। त्यसपछि पनि पटकपटक गरेर यस क्षेत्रमा ४ फिट बढी बाक्लो हिउँ परेको छ। बाक्लो हिउँको कारण यहाँ देखि एक दिनको बाटो चम्रो जाने कार्यक्रम नै रोक्नु परेको स्थानीय पर्यटन व्यवसायी प्रकाश गुरुङले सुनाए।

पोखराबाट एक दिनमा नै हिउँ खेलेर फर्कन सक्ने भएपछि पोखरेली युवायुवतीहरूको पनि रहर पूरा हुन थालेको छ।

बाटोको सहजतासँगै कास्कीको पर्यटकीय गाउँ ताङतिङको शिर ३१ सय मिटर उचाइमा रहेको क्रपुडाँडा आन्तरिक पर्यटकको नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएको छ। क्रपुडाँडा क्षेत्रमा बाक्लो लालीगुराँसको जंगल छ। चैत, वैशाख महिनामा विभिन्न थरीका सुन्दर लालीगुराँससँगै हिमालको अवलोकन गर्न यहाँ पर्यटक लोभिन्छन्। सडकको पहुँचको कारण एकै दिनमा क्रपुडाँडा पुगेर हिउँ खेलेर पोखरा फर्कन सकिने भएकोले यतिबेला पोखरेली मात्र होइन छिमेकी जिल्लाबाट पर्यटक आउँदा गाउँमा पर्यटकको चहलपहल बढेको मादी गाउँपालिका २ का वडाध्यक्ष एकजंग गुरुङ बताउँछन्।

केही दिन बसेर हिउँमा रमाउन चाहने पर्यटकका लागि क्रपुमा टेन्ट क्याम्पसहितको होटल र धर्मशाला सञ्चालनमा छन्। क्रपुबाट झरेर अर्गानिक खाना, गुरुङ कला संस्कृति, रहनसहनमा रमाउन चाहने पर्यटकहरूका लागि ताङतिङ उत्तिकै सुन्दर गाउँ हो। पछिल्लो समयमा ताङतिङ र अर्को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको आकर्षण बढेको छ। नेपालकै होचो २ हजार ४ सय ५० मिटर उचाइमा रहेको क्हफुचे हिमताल र पोखराको सबैभन्दा नजिक हिउँ खेल्न सकिने क्रपुडाँडाको कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको वडाध्यक्ष गुरुङ बताउँछन्।

ताङतिङ गाउँ हुँदै भजिन पदयात्रा मार्ग क्रपुडाँडा, चोरो, क्होलासोन्थर, तिउँचे, कोरीडाँडा, क्हफुचे हुँदै सिक्लेस पुग्ने गरी आठ दिनको पदयात्रा मार्ग पनि सञ्चालनमा छ। यस क्षेत्रको थप प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सकिन ताङतिङ पर्यटन परिषद्का अध्यक्ष भूपाल गुरुङ बताउँछन्। ताङतिङ, क्रपु हुँदै दूधपोखरी, मनाङ, लमजुङ क्षेत्रका पनि पदयात्रा गर्न सकिने उनले सुनाए।

छोटो समयका लागि आउने पर्यटकका लागि ताङतिङ, क्रपु, चोरोसम्म पदयात्रा र सिक्लेसतर्फ सिक्लेस हुगु, क्हफुचे क्षेत्रको पदयात्रा गर्न सकिने सिक्लेस र ताङतिङ क्षेत्रमा ध्वाँसे चितुवा संरक्षणका क्षेत्रमा काम गरिरहेको प्रकृतिका साथीनामक संस्थाका निर्देशक राजु आचार्य बताउँछन्। यसैले यस क्षेत्र स्वदेशी मात्र होइन विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्रको रूपमा विकास गर्न थप प्रचारप्रसार गर्नुपर्ने उनले सुनाए।

होमस्टेको मज्जा
ताङतिङमा १४ घरमा होमस्टे सञ्चालनमा छन्। यहाँ ८५ जना पाहुना बस्न सक्ने व्यवस्था रहेको ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ बताउँछिन्। २०६४ सालदेखि यहाँ होमस्टे सुरु भए पनि २०६८ सालमा होमस्टे दर्ता भएर सञ्चालनमा आएको हो। सुरुका दिनमा २४ घरमा सञ्चालनमा थियो। बीचमा यो संख्या घटेर ९ घरमा मात्र सञ्चालनमा आएकोमा पछिल्लो समयमा बढेर १४ घरमा सञ्चालनमा छ। आन्तरिक पर्यटकको आगमन बढेसँगै होमस्टे र होटल सञ्चालन गर्नेको संख्या बढ्दो क्रममा रहेको ताङतिङ पर्यटन परिषद्का अध्यक्ष भूपाल गुरुङले बताए। ताङतिङ गाउँमा पहिलेपहिले विदेशी पर्यटक मात्र आउँथे। पछिल्लो समयमा नेपाली पनि पदयात्रा गर्न र घुम्न रमाउन थालेपछि स्थानीय युवाहरू गाउँ फर्केर पर्यटन व्यवसायमा लाग्न थालेको ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष गुरुङले बताइन्।

पहिलो लहरको कोरोना संक्रमण कमजोर भएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको परिषद्का अध्यक्ष गुरुङले सुनाए।  क्रपुडाँडामा पुस महिनादेखि हिउँ पर्न थालेसँगै पर्यटकको चहलपहल ह्वात्तै बढेको उनको भनाइ छ। शुक्रबार र शनिबार यतिबेला हिउँ खेल्न आउने आन्तरिक पर्यटकले गाउँका होमस्टे र होटलहरू भरिभराउ हुने गरेको परिषद्का अध्यक्ष गुरुङले सुनाए।

व्यवसाय गर्ने बढ्दै
रोजगारको अवसर खोज्दै सहर पसेका, व्यवसाय सञ्चालन गर्न गाउँ छोडेर पोखरा, काठमाडौंलगायत विभिन्न स्थान पुगेका युवा गाउँ फर्कंदै छन्। गाउँमै पर्यटकको चहलपहल हुन थालेपछि घर फर्किएका हुन्। कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको पहिलो लकडाउनपछि यहाँका युवाहरू गाउँ फर्केर होटल व्यवसायमा लगानी गरिरहेका छन्। पोखराको लेकसाइडमा होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायसमेत गरेको ताङतिङ गाउँका युवा भूपाल गुरुङले लकडाउनको बेलामा लेकसाइडमा पर्यटक ठप्प भएपछि गाउँ फर्केर धन्नै ६० लाख खर्चमा गाउँमै होटल र बेकरी सञ्चालन गरेका छन्। लेकसाइडमा भन्दा गाउँमै आन्तरिक पर्यटकको चहलपहल बढेपछि गाउँमा फर्केर लगानी गरेको उनले बताए।

सरकारले सन् २०२२ लाई नेपाल भ्रमण वर्षको रूपमा घोषण गरेपछि पर्यटकको आगमन बढ्ने ठानेर लेकसाइडमा करिब ८० लाख लगानी गरे पनि कोभिडले ठप्प हुँदा मर्कामा परेपछि आफ्नै गाउँमा भविष्य खोज्दै लगानी गरेको उनले बताए।

गाउँमा पर्यटकको चहलपहल बढ्न थालेपछि स्थानीय युवा उत्साहित भएको मादी गाउँपालिका-२ का वडाध्यक्ष गुरुङले बताए। ताङतिङ गाउँमा ७ वटा होटल सञ्चालनमा छन्। यहाँका होटलमा ५० पर्यटक बस्न सक्ने क्षमता रहेको परिषद्का अध्यक्ष गुरुङले जानकारी दिए। हिउँ खेल्न, हिमाल, लालीगुँरास हेर्न र यस क्षेत्रको पदयात्रा गर्न क्रपुडाँडामा पर्यटकको आगमन बढ्न थालेपछि ताङतिङ गाउँका स्थानीय युवाहरूले एक महिना अघिदेखि तीन वटा अस्थायी टहरा बनाएर होटल सञ्चालनमा ल्याएका छन्।

पर्यटक आउन क्रम बढेपछि क्रपुडाँडामा होटल सञ्चालनमा आएको युवा व्यवसायी हिमाल गुरुङले जानकारी दिए। क्रपुडाँडासम्म आएका पर्यटकलाई बस्न र स्थानीय युवालाई रोजगारका अवसर सिर्जना गर्न यस क्षेत्रमा होटल सञ्चालन गर्न कानुनी बाटो खुला गरिदिन पनि स्थानीय युवाहरूले सरकारसँग माग गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने ताङतिङ गाउँभन्दा माथि बस्ती भने छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकबकाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.