पोखरा, साउन ११ : पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा. गोविन्द केसी फेरि अनसन बस्नु नपर्ने बताएका छन् । सूर्य चन्द्र विकास समाजको रजत महोत्सव समारोहलाई शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यो पटक डा. केसी र सरकारबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने बताएका हुन् ।
शुक्रबार सूर्य चन्द्र विकास समाजको रजत महोत्सव समारोहलाई उद्घाटन गर्दै डा. केसीसँग विगतमा धेरै पटक सरकारले सहमति गरे पनि कागजमा मात्र सीमित हुने गरेको बताएका थिए । तर यो पटक भएको सम्झौतालाई सरकारले व्यवहारमै लागू गर्ने दाबी गरे।
मन्त्री अधिकारीले सरकारलाई जनताले महत्त्वपूर्ण अवसर प्रदान गरेको हुँदा राष्ट्रको समृद्धि र विकासका लागि सरकार लागिपरेको बताए । उनले देशको विकास पर्यटन मार्फत हुने जिकिर गर्दै आगामी २ वर्षभित्र नेपाली जहाज १२ राष्ट्रमा पुर्याउने गरी काम गरेको बताए ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्न हुने उनको भनाइ छ । उनले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । मन्त्री अधिकारीले अन्य मन्त्रालयमा भन्दा पर्यटन मन्त्रालयको काम उत्कृष्ट रहेको दाबी समेत गरे ।