क्यान्सर भए नि विदेश नजानू

रिपोर्ट नेपाल | 2022 Feb 17 | 08:16 am 1537

काठमाडाैं, फागुन ५ः कुनै जमानामा एउटा चल्तीको भनाइ थियो— विद्या नपाए काशी जानू। जसै नेपालमा विद्यालय र महाविद्यालयहरू खुले, त्यो आहान काम नलाग्दो भयो। स्वदेशमै पाइन थाल्यो शिक्षादीक्षा। केही वर्षयता नेपालीमाझ आदतै हुन थालेको छ— उपचार नपाए दिल्ली जानू। अझ असाध्य रोग क्यान्सरका लागि त यो आहानै जस्तो बनिरहेको छ। तर क्यान्सरका बिरामीलाई खुसीको खबर छ, यसको ओखतीमुलो नेपालमै उत्पादन हुन थालेको छ। यो खुसी ल्याएको हो, टिजिङ फर्माले। सुन्दै कान सञ्चो हुन्छ, यस्तो ओखती जसमा लेखिएको हुन्छ, मेड इन नेपाल। अवस्था कस्तो भने स्वदेशी ओखती त परै विदेशी पनि सजिलै पाइन्थ्यो नेपालमा।

स्वदेशमै ओखती बन्नु र त्यो पनि क्यान्सरको यो त बिरामीका लागि खुसीको अनि नेपाल र नेपालीका लागि गौरवको कुरा हो। दिल्ली र दिल्लीमा पनि नभए गच्छेले भ्याएसम्म थाइल्यान्ड, सिंगापुर वा बेलायत र अमेरिकासम्म पुगेर उपचार गर्न जान बाध्य छन् नेपाली। त्यसो त नेपालमै क्यान्सर उपचार गर्ने अस्पताल चितवन, धरान, बिर्तामोड र काठमाडौंमा नभएका होइनन्। भनिन्छ, नजिकको तीर्थ हेलाँ, त्यस्तै नेपालीलाई दिल्लीकै भर लाग्थ्यो। तर उदाहरण छन्, दिल्लीका डाक्टरले मृत्युको मिति तोकेका बिरामी नेपालै फर्किएर स्वदेशी चिकित्सकको उपचारपछि निको भएका। स्वदेशी अस्पताल र चिकित्सकले क्यान्सर निको पारेका खबरमाथि ओखती नै नेपालमा बन्ने समाचार थप सुखद छ।

विज्ञ भन्छन्, ‘क्यान्सरको मुख्य कारण हाम्रो जीवनशैली हो।’ जो चुरोट खान्छ, मदिरा पिउँछ र मोटोपन पनि त्यसमाथि कुनै व्यायाम गर्दैन, त्यस्तालाई हुन्छ क्यान्सर। सबै त्यस्तालाई क्यान्सर भएको छैन। अर्काे मुख्य कारण वंशाणुगत समस्या हो। ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या छ। क्यान्सरले जटिल बनाइसकेपछि मात्रै उपचार खोज्न थाल्ने ९० प्रतिशत हुने भुक्तभोगी विशेषज्ञ बताउँछन्। त्यसैले नेपालमा क्यान्सरका बिरामीको मृत्युदर पनि बढी छ। नलाग्नु लागिहालेपछि उपचार त गर्नै पर्‍यो। उपचारका लागि विदेशको भर पर्नुपर्‍यो, विदेशी ओखतीको आड चाहियो भने घरखेतै निखन्दा पनि सम्भव नहुने हुन सक्छ।
तर टिजिङ फर्माले नेपालमा उत्पादन थालेको ओखतीको भाउ भने केही न केही सस्तो पर्ने बताइन्छ। फर्माले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। यसका उत्पादन अहिलेलाई ट्याब्लेट र चक्कीमा छन्। भविष्यमा खोपमा रूपमा ल्याउने योजना पनि छ। विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्डको पालना फर्माले गरेको छ। नेपालको प्रविधि हस्तान्तरणसम्बन्धी ऐनअनुसार भारतीय एसपी एक्युर ल्याबसँग प्रविधि हस्तान्तरण सम्झौता गरी वैदेशिक लगानीसाथ फर्मा खुलेको हो। त्यसो त सरकारले स्वदेशमा उत्पादन प्रोत्साहन गर्न ऐन नियमको व्यवस्था गरेकै छ। औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) बमोजिम नै टिजिङ फर्माले नेपालमै क्यान्सरको दबाई उत्पादन थाल्न सकेको हो।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ। जसको उपधारा ३ मा भनिएको छ— प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। व्यवहारमा यो लागू भएको देखिन्न। गरिब र धनीबीच पहुँचको खाडल छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो वर्षका लागि नारा तय गरेको नारा नै ‘क्लोज द केयर ग्याप’ हो। स्वदेशमा ओखती उत्पादन हुनुसँगै सरकारले उपचारमा समान पहुँच दिने व्यवस्था गर्नुपर्छ। विभिन्न खाले क्यान्सरबाट जोगिन पहिल्यै खोप लगाउन सकिने उपाय स्वास्थ्य विज्ञानले विकास गरिसकेको छ। ती खोपहरू निःशुल्क खोपहरूको सूचीमा समावेश गरी उपलब्ध गराउने काम सरकारको हो। रोग लाग्नुभन्दा लाग्न नदिनु नै श्रेयष्कर हुन्छ। आखिर नागरिकहरू स्वस्थ भए न देशका लागि योगदान गर्न सक्छन्। स्वस्थ नागरिक नै राष्ट्रका सम्पत्ति हुन्। राज्यले स्वास्थ्यमा लगानी गर्न किञ्चित कञ्जुस्याइँ गर्नु हुँदैन। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकियबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.