एमसीसीबारे सत्ता गठबन्धनमा सहमतिकाे प्रयास जारी

| 2022 Feb 17 | 07:52 am 1681

काठमाडौँ, फागुन ५ः अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राखेकाे प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बुधबार भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ । सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग तत्काल एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको मल्लले जानकारी दिए ।

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संसद्भित्र सहमति जुटाएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने निर्णय गरेको छ । बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने, “एकातिर संसद् अवरुद्ध छ । संसद्को अवरोध नहटाई एमसीसी जस्तो विषयले प्रवेश पाउने कुरा हुँदैन । दलहरूबीच सहमतिबिना एमसीसीले संसद्मा प्रवेश पाए सत्तारूढ गठबन्धन कमजोर हुन जानेछ ।” बुधबार माओवादी केन्द्रका भ्रातृ सङ्गठनहरूले नयाँ बानेश्वरमा एमसीसीका विरोधमा प्रदर्शन गरेका छन् । ती प्रदर्शनमा पार्टीका नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.