‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’

रिपोर्ट नेपाल | 2022 Feb 16 | 07:23 am 1205

काठमाडौं, फागुन ४ः सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र शुरू गर्नु उपयुक्त हुने बताए । उनले भने–‘फागुनदेखि शैक्षिकसत्र शुरू भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिकसत्र हुनसक्छ ?’ गत वर्षको शैक्षिकसत्र असारमा शुरू भएको जिकिर गर्दै उहाँले २०८० सालदेखि मात्रै वैशाखमै शुरू गर्नु उपयुक्त हने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लंघन गर्दै भौतिक रूपमा करिब ९० दिनमात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ ।

उहाँले विद्यालय खुलिसकेको अवस्थामा चैतसम्म पूरै पढाई गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिकसत्र शुरू गर्नु उपयुक्त हुने बताए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि वैशाखमा परीक्षा सकेर भर्ना प्रक्रिया शुरू गर्ने र जेठ १ गतेबाट मात्रै शैक्षिकसत्र शुरू गर्नु उचित हुने बताइसकेका छन्। यो वर्ष निर्वाचन भएका कारण वैशाखमै शैक्षिकसत्र शुरू गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै उनले भने–‘नयाँ शैक्षिकसत्रको मिति घोषणा गर्नुअघि सकोकारवालासँग छलफल गर्नेछौँ ।’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिकसत्रको विषयमा भोलि बिहीबार बैठकमा छलफल गरेर मन्त्रालयलाई सिफारिस गर्ने जानकारी दिए । अनलाइन कक्षा सञ्चालन गर्दा प्रभावकारी नभएको गुनासो आइरहेको अवस्थामा सरकारले लोकप्रिय हुनकै लागि वैशाखमा शैक्षिकसत्र शुरू गर्ने तयारी गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैशाखमै निर्वाचन भएकाले सोही महिनामा नयाँ शैक्षिकसत्र शुरू गर्ने कि नगर्ने भन्ने विषयमा परामर्श शुरू गरेका छन् ।

मंगलबार सरोकारवालाहरूको छलफलमा शिक्षक महासंघका अधिकारी र प्रधानाध्यापकहरूले निर्वाचनमा विद्यालयलाई मतदान केन्द्र र सरकारी शिक्षकलाई मतदान केन्द्रमा खटाउन सक्ने भएकोले निर्वाचन सकेर नयाँ शैक्षिकसत्र शुरू गर्न उपयुक्त हुने धारणा राखेका थिए । यसअघि नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले फागुन र चैतका सबै दिन पठनपाठन मात्र गराउन सबैलाई आग्रह गर्दै भने– ‘चैत महिनासम्मका दिन पठनपाठनलाई मात्र केन्द्रित गरौं, वैशाखमा स्थानीय निर्वाचनअघि परीक्षा सञ्चालन गरी जेठमा नयाँ शैक्षिकसत्र शुरू गरौं ।’

दरबार हाइस्कुलका प्रधानाध्यापक शारदा पौडेलले वैकल्पिक सिकाई प्रभावकारी नभएको, अनलाइनको पहुँच भएका ठाउँमा पनि मुस्किलले ६० प्रतिशत मात्र विद्यार्थी सहभागी भएको र उनीहरू पनि नियमित नभएका कारण अबको विद्यालय खुल्ने कुल ४७ दिनमा ३७ दिन पठनपाठनमा जोड दिनुपर्ने बताए । उनले भने– ‘वैकल्पिक कक्षामा बालबालिकालाई नियमित गराउन सकिएन, कोर्स त सकियो तर विद्यार्थीले बुझेनन् । कर्मकाण्डी शैक्षिकसत्र सञ्चालन गर्नुभन्दा फागुन र चैत्रमा पूरै कक्षा पठनपाठन गराएर वैशाखमा परीक्षा तथा नतिजा प्रकाशन तथा भर्ना अभियान सञ्चालन गरी जेठबाट मात्र नयाँ शैक्षिकसत्र शुरू गर्दा उपयुक्त हुन्छ ।’

सो छलफलमा प्रगति शिक्षा सदन ललितपुरका प्रधानाध्यापक सूर्य घिमिरेले संक्षिप्त पाठ्यक्रमअनुसार पठनपाठन गराउँदा पनि कोर्स सक्न दुई महिना लाग्ने भएकोले त्यसपछि मात्रै नयाँ शैक्षिकसत्र शुरू गर्नु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.