झापा, फागुन १ः सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले कटुवा पेस्तोलसहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ नयाँ बस्तीका २४ वर्षीय मुगालाल माझी रहेका छन् ।
उनलाई घरैबाट हतियारसहित पक्राउ गरिएको जानकारी सशस्त्र प्रहरी बल झापाका प्रवक्ता डीएसपी प्रेमबहादुर भण्डारीले दिए। माझीले आफ्नै घरमा हतियार लुकाएर राखेको जानकारी सुरुमा सशस्त्रलाई आएको थियो।
त्यसपछि नेपाल प्रहरीसँग समन्वय गरेर उनको घरमा खानतलासी गरिएको डीएसपी भण्डारीले बताए। डीएसपी भण्डारी र नेपाल प्रहरीका निरीक्षक दलकुमार राई नेतृत्वको संयुक्त टोलीले माझीको घरमा छापा हानेको हो। त्यस क्रममा बिहान ६ः३० बजेतिर बाहिरपट्टि लुकाएर राखेको अवस्थामा खाली पेस्तोल फेला परेको भण्डारीले बताए। पेस्तोलमा लाग्ने गोली भने भेटिएन।
प्रहरीका अनुसार गोली कतै लुकाएर राखिएको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ। पेस्तोलसहित पक्राउ परेका माझीविरुद्ध हातहितयार खरखजना मुद्दा चलाइने भएको छ। पेस्तोल कहाँबाट ल्याएका हुन्भन्ने तत्काल नखुले पनि प्रहरीले भने भारतबाट ल्याएको हुनसक्ने आशंका गरेको छ।