खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

रिपोर्ट नेपाल | 2018 Jul 27 | 07:40 am 2476

बर्दिया, साउन ११: जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ।

उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई रु १५ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो।

जिल्लामा विपद्का बेला खोज तथा उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्रीको अभाव हँुदै आएकाले स्थानीय तहसग अनुरोध गरेर खोज तथा उद्धार सामग्री उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

उहाँले बाढीका कारण जिल्लाका कतिपय भाग जोखिममा पर्ने भएकाले विपद्का बेला हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री हस्तान्तरणले ठूलो सहयोग पुग्ने बताए। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय गुलरियाका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले विपद्का बेला उद्धारका लागि प्राप्त सामग्री निकै उपयोगी हुने बताए।

यसै वर्ष नेपाल रेडक्रस सोसाइटीले समेत रवर बोटलगायत खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने रु नौ लाख बराबरको सामग्रीसमेत स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.