गौतम बुद्ध विमानस्थल बन्द

| 2022 Feb 05 | 08:24 am 1645

भैरहवा, माघ २२ः टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ । शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङका कारण टावरमा धुवाँ आएको थियो । यसका साथै टावरको तार चुँडिएको र रन वेको पापी (पीएपीआई) लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको दहालले जानकारी दिए । “टावरमा समस्या आएका कारण विमानस्थल बन्द गरिएको छ,’’ दाहालले भने “शनिबार पापी लाइट बने राति अवतरण हुनेछ अन्यथा भीओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ । ” विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.