हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Feb 04 | 04:57 pm 2025

काठमाडौं, माघ २१ः हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका २१ घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका ७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् । उनीहरुमध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका ५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका १३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर महानगरपालिका १७ मटेरूवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

धनपालथान गाउँपालिका ७ बस्ने दिलिप सिंहको उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका ४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका ३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका ८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति २ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका १२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जना पक्राउ

राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.