बन्द गरिएका हुम्लाका अस्पतालमा सेवा सुचारु

| 2022 Jan 30 | 04:09 pm 1793

हुम्ला, माघ १६ः स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा आईतबारवाट सुचारु गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा संङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त भएपछि अस्पतालले सेवा सुचारु गरेको हो ।

कार्यालय प्रमुख प्रेमबहादुर सिहंले एक हप्ताका लागि बन्द गरिएका अस्पतालका आकस्मिक बाहेकका बन्द सेवा सुचारु गरिएको बताए । यसअघि माघ ७ गते कोरोना परिक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सङ्क्रमण बढ्ने त्रासले अन्य सेवा अस्पतालले अर्को सुचाना प्रकाशन नगर्दासम्मका लागि बन्द गरेको थियो ।

आजबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु भएको जनाउँदै चिकीत्सक र स्वास्थ्यकर्मी चौबीसै घण्टामा सेवामा खटिएको उनले बताए । अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले खुलेको पहिलो दिनमै पचास जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको बताए ।

अस्पतालका बन्द रहेका सेवा सुचारु भएसँगै बिरामीलाई सहज भएको छ । सेवा खुलेसँगै अस्पतालले बिरामीलाई भर्ना समेत लिने जनाएको छ । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दिर्घरोग भएकाहरु समस्यामा पर्दै आएका थिए । यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसुती, कोरोना परिक्षण र खोप लगाउने कार्यबाहेक अन्य सेवा बन्द गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.