काठमाडौं, माघ २: नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा सोमबार जारी गरेको बुलेटिनमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम विद्ले अनुरोध गरेका छन्।
सोमबार बिहान प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।
राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
महाशाखाका अनुसार बुधबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट