स्वरोजगार बन्दै अपाङ्गता भएका महिला

| 2022 Jan 17 | 08:08 am 1561

उदयपुर, माघ ३ः शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् । सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउछिन् । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उनीले दुई वर्षदेखि यो व्यवसाय गरिरहेकी छिन् । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताइन् ।

त्रियुगा नगरपालिका–११, गाईघाटकी शान्ता परियार पनि चार वर्षदेखि ढाकाको टोपी उत्पादन गर्दै आएकी छन् । सात वर्षअघि प्यारालाइसिस भएपछि दुवै खुट्टा काम नलाग्ने भएपछि उनले यो पेसामा हात हालेकी हुन् । “प्यारालाइसिस भए पनि हिम्मत हारिनँ र बिस्तारै ढाकाको टोपी बुन्ने काम सुरु गरेँ र अहिले राम्रै आम्दानी गरिरहेकी छु,” परियारले भनिन् ।

ढाकाको टोपीबाट मासिक २५ हजार रुपियाँ कमाइ हुने गरेको उनले बताइन् । हातले बुनेका ढाका टोपीको माग बजारमा धेरै छ । बुट्टा हेरेर ५०० देखि चार हजार रुपियाँसम्ममा ढाकाको टोपी बिक्री हुने गरेको छ । गएको तिहारमा टोपी बेचेर डेढ लाख रुपियाँ कमाएको उनले बताइन् ।

गाईघाट बजारकी शान्ता चौधरी पनि ढाका कपडाबाट विभिन्न सामग्री तयार गर्दै आएकी छन् । उच्च रक्तचापका कारण प्यारालाइसिसबाट देब्रे खुट्टा नचलेपछि घरमा बसेर समय खेर फाल्नुको साटो उद्यमीतर्फ आकर्षित भएकी चौधरीले हस्तकलामा राम्रै सीप हासिल गरेकी छन् ।
त्यही सीपबाट मासिक ३० हजार रुपियाँसम्म आम्दानी लिने गरेकी चौधरीलाई भने उत्पादित वस्तुको बजार अभाव रहेको पिरलो छ । “हामी सामान उत्पादन गर्छौं तर कहाँ लगेर बिक्री गर्ने भन्ने सधैँ चिन्ता भइरहन्छ । उचित मूल्य र बजार पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले सधैँभरि सताइरहेको हुन्छ,” उनीले भनिन् ।

ताप्ली गाउँपालिका–३, इनामेकी ३९ वर्षीया हर्कमाया मगरलाई पनि बजारको चिन्ता छ । “बजारीकरणको कसैले जिम्मा लिने हो भने जति पनि उत्पादन गर्न सकिन्छ,” बाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी मगरले भनिन् । घरेलु उद्यमप्रति आकर्षण बढे पनि बजारीकरणमा भने कुनै पनि निकायले ध्यान नदिँदा उद्यमीहरूमा निराशा पैदा भएको गाईघाट बजारमा कोसेली हाउस सञ्चालन गरिरहनुभएका रुद्रबहादुर श्रेष्ठले बताए । उनले भने, “घरघरमा उद्यमी तयार भएका छन् र सामग्री पनि उत्तिकै तयार हुँदै आएको छ तर सोचेअनुरूप बजार नहुँदा उद्यमीले उचित मूल्य पाउन सकेका छैनन् । ”

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले अपाङ्ता भएका स्थानीय महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनी तथा बिक्री कक्षका लागि ठाउँ तयार गर्न नगरपालिकाले तयारी गरिरहेको बताए । अपाङ्गता भएका महिलाको सीप र कलाबाट उत्पादित वस्तुको प्रयोग बढाउन सके बजारमा आयात प्रतिस्थापनमा समेत ठूलो सहयोग पुग्ने चौधरीको भनाइ छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.