अग्रपंक्तिकालाई भोलिबाट खोपको बुस्टर मात्रा

रिपोर्ट नेपाल | 2022 Jan 16 | 07:58 am 1413

काठमाडौं, माघ २ः सरकारले अग्रपंक्तिमा खटिने व्यक्तिलाई भोलि सोमबारबाट कोभिडविरुद्धको खोपमो बुस्टर मात्रा दिने भएको छ । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले यसलगत्तै माघ १४ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई बुस्टर मात्रा दिने निर्णय गरेको छ ।

त्यसबाहेक पूर्ण खोप लिएको ६ महिना पूरा भएकालाई बुस्टर मात्रा दिने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर मात्रा दिने तयारी गरेसँगै जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्थापन शुरू गरेको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले सोमबारबाट बुस्टर डोज खोप शुरू गर्ने जानकारी दिँदै भने–‘शुक्रबार अबेर निर्णय भएका कारण सोमबारबाट मात्रै अभियान शुरू गर्नेछौं ।’

उनका अनुसार आज आइतबार खोप प्राप्त गरेपछि जिल्लास्थित खोप समन्वय शाखाबाट निर्णय गरी खोप दिन शुरू गरिनेछ । काठमाडौंमा सबै अस्पतालस्थित खोप केन्द्र र केही निजी गरी करिब २० वटा केन्द्रबाट खोप दिने व्यवस्था मिलाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी खोप लगाउने व्यवस्था गर्नेछ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.