कोभिड नियन्त्रणमा सबै मिलेर लागौं : प्रधानमन्त्री देउवा

| 2022 Jan 16 | 07:55 am 1329

काठमाडौं, माघ २ः प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । उनले अहिले देखापरेको कोभिड नियन्त्रण र रोकथाम गर्न सबै मिलेर लाग्नुपर्ने बताएका हुन् । शनिबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोभिड नियन्त्रणका सरकारले गर्नुपर्ने कामका बारेको ज्ञापनपत्र बुझेपछि जवाफ दिँदै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकारले काम गरिरहेको बताए। एमालेले बुझाएको ध्यानाकर्षणपत्र सकारात्मक रहेको बताउँदै उनले भने–‘सरकार उत्तिकै चिन्तित छ । राष्ट्र नै एक हुनुपर्छ, अहिले तेरो पार्टी, मेरो पार्टीभन्दा पनि सबै मिलेर कोभिड नियन्त्रणमा लागौं ।’

‘सबै पार्टीले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ । जनतालाई सम्झाउनु, बुझाउनुपर्छ । ठीक छ, विपक्षी पार्टीको हिसाबले सरकारको विरोध गर्ने कुरा म बुझ्दछु । साथसाथै यो त सबैको समस्या हो । यसलाई रोकथाम गर्नका लागि सबैले ध्यान दिनुपर्छ’ – प्रधानमन्त्री देउवाले भने । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.