कास्की, पुस ३०ः जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका ६ भोर्लेटार घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने २३ बर्षीय ओमित गुरुङ्ग प्याराग्लाईडिङ सिक्ने क्रममा उक्त तालमा खसेका थिए । सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायमक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले निज गुरुङ्गलाई सकुशल उद्वार गरेको हो ।
खोलामा डुवेर बेपत्ता भएकी वालिकाको फेला
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ४ गुन्जनगौरी नजिकैको खोलामा डुवेकी एक वालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँ बस्ने १० वर्षिया डल्ली बि.क. उक्त खोलामा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुन्जनगौरीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
चोरीपैठारीको लत्ताकपडा बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ नगवा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।