पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

| 2022 Jan 11 | 05:54 pm 1125

काठमाडौं, पुस २७ः  काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको तथा चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट १ सय ८३ किलो अवैध लागूऔषध गाँजा सहित थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिङतानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३-०१-०२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा गाडीमा पोका बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पिकअप चालक रामचन्द्रलाई पक्राउ गरेको हो ।
बाग्लुङ, गल्कोट नगरपालिका-५ हटिया चोकबाट करिब २३ किलो अवैध लागूऔषध गाँजा सहित वडिगाड गाउँपालिका-८ खोलाखर्क बस्ने २७ वर्षीय प्रकाश पाईजालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङ र ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

स्याङजा, फेदीखोला गाउँपालिका-४ सर्केटारीबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-१ आरुखर्क बस्ने काभ्रे बन्थली घर भएकी ४३ वर्षीया लक्ष्मी पहारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२२ जामुने डाँडाबाट नियन्त्रित लागूऔषध १ सय ७१ एम्पुल बुप्रिनर्फिन, १ सय ७१ एम्पुल डाइजेपाम र १ सय ७१ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार घर बताउने २१ वर्षीय धर्मेन्द्र कुमार र रुपन्देही मर्चवारी गाउँपालिका-५ मजगावा घर भएका २० वर्षीय अविनाश यादव रहेका छन् । पोखरातर्फ आउँदै गरेको लु.३३ प ९३४३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा मोटरसाइकलमा सवार धर्मेन्द्रको साथबाट उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाश समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.