नयाँ भेरिअन्ट ओमिक्रोन थप २४ जनामा संक्रमण पुष्टि

| 2022 Jan 07 | 01:59 pm 1177

काठमाडौँ पुस २३: नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।

देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस-जिन नेगेटिभ पुष्टि भएको हो ।

यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् । ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा जिन सिक्वेन्सिङ गराउँदै आएको छ । देशभरिबाट र्‍यान्डम सिम्पलिङ विधिबाट संकलित पिसिआर र एन्टिजेन पोजिटिभ केसहरूमा ओमिक्रोन संक्रमण पुष्टि भए नभएको हेर्दै आएको छ ।

सोही क्रममा पुष महिनामा संकलन गरिएका ११४६ पोजिटिभ नमूनाहरूमध्ये २२ प्रतिशतमा एस-जिन नेगेटिभ आएको थियो । एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरूमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।

ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामाग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने मुलुकमा ओमिक्रोनका केसहरु बढ्ने अनुमान मन्त्रालयले गरेको छ । भेरिअन्टबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.