बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ

| 2021 Dec 30 | 07:27 pm 1269

मोरङ, पुस १५ः विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका छन् ।

उक्त बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

सिरहा, धनगढिमाई नगरपालिका-१३ गौशालाबाट १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित औरही गाउँपालिका-५ बस्ने ६० वर्षीय जोगेन्द्र यादव र औरही गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । स.५ प ३१४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले  जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही, सैनामैना नगरपालिका-१ दुर्गाभवानी टोल बस्ने २१ वर्षीय सागर केसीलाई २ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो धुलो पदार्थ सहित साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट जुम्ला गोठिचौर गाउँपालिका-५ बस्ने १९ वर्षीय दिनेश नेपालीलाई नियन्त्रित लागूऔषध ५१ ट्याब्लेट नाईट्राभेट, ४० ट्याब्लेट ट्रामाडोल र १० ट्याब्लेट एनटि टेन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जमुनाहस्थित चेकपोष्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.