काठमाडाैं, पुस १२ः आइतबार प्रधान सेनापति महारथी प्रभुराम शर्माद्वारा मध्य कमाण्ड हे.क्वा. अन्तर्गत रुपन्देही जिल्ला, बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम पश्चात प्रधान सेनापति महारथी शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेका थिए । साथै, प्रधान सेनापति महारथी शर्माले कास्की जिल्ला, पोखरा, सेतिदोभानस्थित सामुहिक तालिम ईलाकाको स्थलगत निरीक्षण गर्नु भई तालिमका विविध पक्षहरुका बारेमा जानकारी हासिल गर्नुका अलावा तालिमरत सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।