श्रमिकलाई इजरायल पठाउन वायुसेवा कम्पनीसँग प्रस्ताव माग

रिपोर्ट नेपाल | 2021 Dec 26 | 08:56 am 1405

काठमाडाैं, पुस ११ः इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जान छनोट भएका नेपालीलाई ढिलोमा दुई महिनाभित्र उडान गर्ने तयारीसहित प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई इजरायल पठाउन विभिन्न हवाई सेवा प्रदायक सस्थासँग प्रस्ताव समेत माग गरेको छ । विभागले नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पदमा कार्य गर्न अनुमति प्राप्त गर्ने प्रकृयामा रहेका १ हजार १ सय ७५ जना नेपाली कामदारहरुलाई इजरायलको वेन निओन विमानस्थलसम्म पु-याउने गरी प्रस्ताव माग गरेको हो ।

विभागले जनवरी र फेब्रुअरीभित्र उडान गर्नुपर्ने शर्त राखेर सेवाका लागि प्रस्ताव समेत पठाई सकेको जनाएको छ । सम्पूर्ण प्रक्रिया पूरा भएका श्रमिक स्वयंको खर्चमा सिधा उड़ान र एकल ट्रान्जिट उडान (कमर्सियल फ्लाइट विथ वान स्टप) मार्फत यात्रा र्दा करसहित प्रति कामदार के कति हवाई भाडा लाग्ने हो, सोको छुट्टाछुट्टै रुपमा भाडादर र उडान तालिका योजनासहितको सिलवन्दी प्रस्तावको सूचना प्रकाशित गरेको विभागका अधिकृत जीवनकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार कामदारलाई अधिकतम सस्तो र सर्वसुलभ होस् भनेर प्रतिस्पर्धा गराइएको हो ।

विभागले गरेको उडान प्रस्ताव अनुसार पुस १७ देखि फागुन १६ अर्थात २ महिना भित्र उडान गरिसक्नुपर्ने गरी हवाई सेवा प्रदायक संस्थासँग प्रस्ताव आह्वान गरिएको छ । प्रस्तावमा त्रिभुवन विमानस्थलबाट इकोनोमिक वर्गमा श्रमिक उडान सक्ने गरी प्रस्ताव गरिएको छ । विभागले हालसम्म इजरायलका विभिन्न स्याहार केन्द्रमा रोजगारी दिने गरी माग गरिएका मध्ये आइतबारसम्म ५ सय ५३ भन्दा बढी युवाको रोजगार सम्झौता (एसइसी) भइसकेको जनाएको छ ।

हालसम्म पहिलो चरणमा २ सय २९, दोस्रो चरणमा १ सय ६६ र तेस्रो चरणमा १ सय ५८ गरी शनिबारसम्म ५ सय ५३ श्रमिकको इजरायलको रोजगारदाताले रोजगार सम्झौता गरी पठाएकाहरुको श्रमिक पक्षबाट हस्ताक्षर भइसकेको छ । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा पठाइने मध्ये अधिकांशाको सहायक श्रमिकको करार सम्झौता प्राप्त हुने क्रममा रहेको विभागले जनाएको छ ।

इजरायलका रोजगारदाताको पक्षबाट हस्ताक्षर भई नेपाली श्रमिकको अन्तिम सम्झौताको हस्ताक्षरका लागि नामावली विभागमा प्राप्त भएको हो । प्राप्त करार सम्झौतापत्रमा सम्बन्धित उम्मेदवारहरुबाट ५ दिनभित्र सम्झौता गराई इजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि हाल कागजात लिने तथा हस्ताक्षर गर्ने काम भइरहेको छ । यसका लागि विभागले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान, भैसे पाटी, ललितपुरमा आवश्यक कागजात संकलन र हस्ताक्षरको काम गरिरहेको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.