केसी-सरकार पक्षबीचको वार्तामा आंशिक सहमति, आज फेरि वार्ता

रिपोर्ट नेपाल | 2018 Jul 25 | 06:30 am 1449

काठमाडौं, साउन ९: २५ दिनदेखि अनशन बसेका डा गोविन्द केसी र सरकार पक्षबीच आंशिक सहमति भएको जनाइएको छ। थप सहमति जुटाउन आज बुधबार फेरि वार्ताका लागि बोलाइएको केसी पक्षका वार्ताकार सुरेन्द्र भण्डारीले जानकारी दिए।

मंगलबार साँझ सिंहदरवारमा बसेको केसी र सरकार पक्षबीचको वार्तामा केही बुँदामा विषयमा सहमति हुन नसकेपछि वार्ता बुधबार पुन: बस्‍ने भण्डारीले जानकारी दिए।

उनका अुसार डा. केसीको विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत माग बारे छलफल गरिएको थियो।

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने सहभागि थिए। यस्तै डा. केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे थिए।

यसअघि दिउँसो नै प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल, सुवास नेम्वाङले माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटासँग छलफल भएको थियो।

उक्त छलफलपछि नेम्वाङले डा केसीका पक्षका डा जीवन क्षेत्री, डा अभिषेकराज सिंह र डा सुमन आचार्यलगायतसँग पनि छुट्टै छलफल गरेका थिए। डा.केसी पक्षले विधेयकमा संशोधन गर्नुपर्ने विषयको ड्राफ्ट दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.