पासपोर्टविनै बैंकक उड्‍न लागका उपप्रधानमन्त्रीको विमानस्थलमै ‘वितण्डा’

| 2018 Jul 25 | 06:19 am 2090

काठमाडौं, साउन ९: पासपोर्ट विनै बैंकक उड्न लागेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विमानस्थलमै ‘वितण्डा’ मच्चाएका छन्।

काठमाडौंबाट बैंककका लागि उड्‍न तयार टीजी ३२०को निर्धारित समयभन्दा १० मिनेट अघिमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मन्त्री यादवले आफू जसरी पनि जानु पर्ने अडान लिएपछि विमानस्थल र थाइ एयरवेजका सम्बन्धित अधिकृतहरुले पाइलटलाई सम्पर्क गरे।

भीभीआइपीलाई ‘अकोमोडेट’ गर्न केही समय उडान ढिलो गर्न सकिने पाइलटले जवाफ दिएपछि बन्द भइसकेको प्लेनको ढोका खुल्‍यो र हटाइ सकेको भर्र्‍याङ प्लेनको नजिक फेरि ल्‍याइयो।

तर, पुन: नयाँ समस्‍या आइलाग्‍यो। उपप्रधानमन्त्री यादवसँग पासपोर्ट नै रहेनछ। उनले आफ्नो ‘पावर’ प्रयोग गरी अर्को रातो पासपोर्ट बन्‍यो। तर चेकिङ काउन्टर बन्द भइसकेकाले उनलाई ‘कम्प्‍युटराइज्ड’ को सट्टामा हस्तलिखित बोर्डिङ पास दिइयो।

त्रिभुवन विमानस्थलमा उनलाई पासपोर्ट हस्तान्तरण गरेपछि उनको यात्राको तयारी पूरा भयो। तर उपप्रधानमन्त्री यादवको यो अनपेक्षित र असाधारण व्‍यवहारका कारण विमानमा समयमै पुगेका र चढेर आ-आफ्‍ना सिटमा बसेका यात्रुहरुले करीब ४५ मिनेटको सास्ती भोग्‍नु परेको विमानस्थल स्रोतले देश सञ्‍चारलाई जानकारी गरायो।

परराष्ट्रमन्त्री समेत रहिसकेका यादवका सहयोगी महेश चौरिसयाका अनुसार उनको पासपोर्ट हराएकाले हतार-हतारमा नयाँ पासपोर्ट बनाउनु परेको र त्‍यसक्रममा थाई एयरवेजको विमान केही बेर रोक्‍नु परेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.