“सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा-२०७८” को शुभारम्भ

रिपोर्ट नेपाल | 2021 Dec 22 | 04:15 pm 2221

काठमाडाैं, पुस ७ः बुधबार प्रधान सेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरी “सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा-२०७८” को औपचारीक रुपमा शुभारम्भ गरेका छन् ।

सैनिक सेवामा न्यूनतम १० बर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपाल भित्र आफ्नो घर (न) नरहेका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर (जम्मा ३.३२%) मा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली सेनाद्वारा उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याईएको हो । हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरु प्राप्त हुने क्रममा रहेका छन् ।

प्रधान सेनापति महारथी शर्माले पदवहाली पश्चात सकलदर्जालाई गरेकाे पहिलो सम्बोधनका क्रममा उक्त आवास कर्जा कार्यक्रम लागु गर्ने प्रतिबद्धता गरे बमोजिम मिति २०७८ कार्तिक २२ गते “सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा-२०७८” को सहमति पत्रमा प्रतिष्पर्धाका आधारमा छनौट भएका राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच हस्ताक्षर भई सहमति पत्र आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ ।

कर्जा सुविधा उपभोगका लागि तोकिएको योग्यता पुगेका सकलदर्जाहरुले काठमाडौ उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा अन्तर्गत रहेको आवास कर्जा कार्यान्वयन इकाई र उपत्यका बाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्ड अन्तरगतका हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सकिने बताइएकाे छ ।

साथै, नेपाली सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरुको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था मिलाएको छ भने अवकाश प्राप्त सकलदर्जाले प्राप्त गर्दै आइरहेको निवृत्तिभरणमा ६० बर्षमाथिकालाई वृद्धि गरी मासिक रु.१ हजार पुर्‍याईएको छ । यसका अलावा सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासिय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको छ ।

सकलदर्जाहरुलाई समयसापेक्ष सुविधा र सहुलियतमा बृद्धि गर्दै लैजाने नीति अनुरुप यस किसिमको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात कल्याणकारी सेवा सुविधामा समेत वृद्धि हुनुका अतिरिक्त सैनिक सेवाप्रतिको आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.