कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

| 2021 Dec 21 | 04:34 pm 1465

मोरङ, पुस ६ः कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका-२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-२ नहर टोल बस्ने चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउ मंसिर २६ गते दिउँसो घरबाटै हराई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी खोजी गर्ने क्रममा मंसिर २८ गते चन्द्रकै घर पछाडि पैनीमा गाडेको अवस्थामा युनिसाको शव फेला परेको थियो । घटनाको थप अनुसन्धानको क्रममा उक्त कसूरमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद थप गरी  आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ औधोगिक क्षेत्रबाट करिब २ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रत्न बहादुर बुढा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले  जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-६ कसेनीबाट करिब १५ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने १ थान यन्त्र, को.३२ प ७६०२ नम्बरको मोटरसाइकल, १ थान मोबाईल र नगद ५ हजार २५ रुपैयाँ सहित सोही ठाउँ बस्ने २६ वर्षीय विक्रम लावतीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-९ अमिलिया बजारबाट करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीया चन्दा राना समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १० किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण कुमार सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्दा उनको झोलामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.