दूधमतीको मुहानै कब्जा

| 2021 Dec 21 | 08:03 am 1733

धनुषा, पुस ६: जनकपुरको धार्मिक महत्वको दूधमती नदी अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमणमा संलग्न व्यक्तिले नदीको मुहान नै थुनेका छन्। नदी पुरेर खेत बनाएका छन्। कतै–कतै घरै ठड्याएका छन्। तर, सरकारी निकायले अतिक्रमण हटाउन चासो देखाएको छैन।

दूधमतीको उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर अरजनमा टोलमा पर्छ। यसको बहाव महोत्तरीको मधवापुर मटिहानीसम्म करिब ४६ किलोमिटर क्षेत्रफलमा छ। यो नदीमा ५० वर्षअघिसम्म सफा र स्वच्छ पानी बग्थ्यो। अहिले ठाउँ–ठाउँमा थुनिएको छ। भएको धारमा पनि फोहोर र ढल मिसाएर नदी प्रदूषित बनेको छ।

‘दूधमतीको पानी पहिले सोझै खान मिल्ने खालको थियो’, जनकपुरधाम उपमहानगरपालिका–२२ बिसबिट्टीका ७५ वर्षीय सोनफी सहनी भन्छन्, ‘पहिला फागुपूर्णिमामा मिथिला मध्यमा परिक्रमा जनकपुर आउँदा दूधमती नदीकै किनारमा परिक्रमा यात्रीहरू बस्थे। यस नदीको पानी लिएर खाना पकाउने गर्थे। तर, अहिले त पानी निकै फोहोर भएको छ।’

मुहानको अवस्था निकै दयनीय छ। सानो तटबन्ध बनाएर पानी छेकबार गरिएको छ। तटबन्ध खुलाई थुनिएको पानीलाई निकास दिने योजना थियो। तर, अतिक्रमणकारीले तटबन्ध पुरेर सडक बनाइदिए र ग्राभेल पनि गरिदिए।
–विमलेश मिश्र, सचिव, दूधमती गरिमा संरक्षण समिति

दूधमती नदीको संरक्षण गर्न जनकपुरधाम उपमहानगरपालिकाबाट जुन प्रकारको पहल हुनुपथ्र्यो त्यो हुन सकेको छैन। अतिक्रमणबारे मलाई पनि जानकारी छ। तर, गाउँघरमा यस्तो अतिक्रमण हटाउन साह्रै गाह्रो छ।
–शिवरत्न पाण्डे, वडाध्यक्ष, जनकपुरधाम–२२

बिसबिट्टीकै ५० वर्षीय विन्देश्वर साहका अनुसार दूधमतीको पानीले यस क्षेत्रमा सिँचाइ पनि हुन्थ्यो। ‘पहिला नदी किनारमा ठूलठूलो रूखहरू थियो। नदी निकै सुन्दर र कलकल पानीले भरिएको थियो। तर, जति–जति जनकपुर सहर बस्दै गयो त्यति दूधमती खुम्चिँदै गएको छ’, स्थानीयवासी साह भन्छन्, ‘अधिकांश ठाउँमा नदीको डिल पुरेर जग्गा नम्बरी गराइएको छ। अहिले त केही स्थानहरूमा मात्रै दूधमतीको धार बाँकी छ।’

मुहान थुनेर पोखरी
जानकारका अनुसार धर्तीको गर्भबाट आफैं प्रस्फुटित भएको दूधमतीको धारा कलकलाउँदै बग्ने गथ्र्यो। तर, व्यक्तिगत स्वार्थका कारण नदी थुनेर हाल पोखरी बनाइएको छ। मूल मुहान थुनेर करिब दुई बिघामा डिल बाँधी दूधमतीलाई पोखरीको स्वरूप दिइएको छ। नदी क्षेत्र मिचेर खेत बनाउन पोखरी बनाइएको जानकार बताउँछन् । यो पोखरी प्रयोग भने  गरेका छैनन् ।

पोखरीबाट नदीको पानीलाई बहाव दिन सानो कलभर्टजस्तो बनाइएको छ। तर, त्यहाँबाट पानी बढी नबगोस् भने कलभर्टको मुख पनि थुनेर त्यहाँ कच्ची रोड नै बनाई अतिक्रमण गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.