पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

| 2021 Dec 17 | 08:09 am 1429

दैलेख, पुस २: दैलेख जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। बालिकालाई बलात्कार गरेको अभियोगमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको हो।

अदालतले जन्म कैदसँगै ६ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। मागदावी अनुसार सजाय मनासिव देखिएकोले पेशीकै दिन फैसला भएको श्रेस्तेदार कार्कीले बताए।

पाँच वर्षकी नाबालिकलाई बलात्कार गरेको गम्भीर घटना भएको कारण सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले अभियोगमा गरिएको मागदाबी अनुसारकै जन्मकैद सजायको जिकिरसहित पीडित बालिकाको पक्षबाट बहस गरेका थिए। २०७७ पुस १७ गते बालिकालाई बलात्कार गरेको भन्ने आरोपमा पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोही दिन बिकलाई पक्राउ गरेको थियो।

बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो। बलात्कार घटनामा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेको थियो। थुनछेक बहसपछि कसुरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.