विभिन्न दलका नेताद्वारा देउवालाई बधाई

रिपोर्ट नेपाल | 2021 Dec 15 | 12:53 pm 1145

काठमाडाैं, मंसिर २९ः नेपाल काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल तथा अन्य दलका नेताहरूलाई बधाई र शुभकामना दिएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति निकालेर नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका छन् । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले जारी गरेको विज्ञप्ति : 
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।
हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल !

मितिः २०७४/९/२९
रामचन्द्र पौडेल

त्यसैगरी नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार बिहान बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.