1 st COAS National Lawn Tennis Tournament-2078 को समुद्‍घाट

| 2021 Dec 13 | 01:28 pm 2401

काठमाडाैं, मंसिर २७ः नेपाली सेनाको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको “1 st COAS National Lawn Tennis Tournament-2078” को मिति २०७८ मंसिर २७ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्डास्थित लन टेनिस कोर्टमा आयोजित एक समारोहका बीच समुद्‍घाटन गरेका छन् ।

१२ वटा ईभेन्टमा प्रतिष्पर्धा हुने उक्त प्रतियोगितामा १८५ जना खेलाडीहरु सहभागी हुने छन् । नेपाली सेनाको जंगी अड्‍डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लब लन टेनिस कोर्ट तथा नेपाल लन टेनिस संघको दशरथ रंगशालास्थित लन टेनिस कोर्टमा मिति २०७८ मंसिर २७ गतेदेखि २०७८ पौष ०५ गतेसम्म सञ्‍चालन हुने उक्त प्रतियोगितामा खुल्ला पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स्, विभिन्न उमेर समूहका भेट्रान्स् एकल र भेट्रान्स् डबल्स् तथा Inter-Governmental तर्फ पुरुष डबल्स् विधाहरु समावेश गरिएको छ ।

नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने एवं टेनिस खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको यस प्रतियोगितामा पुरुष र महिला एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. ५० हजार, २५ हजार र १५ हजार प्रदान गरिने छ ।

त्यसैगरी, पुरुष र महिला डबल्स् विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. ४० हजार, २० हजार र १० हजार तथा भेट्रान्स्‍तर्फ ३५ वर्षमाथि एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. ३० हजार, १५ हजार र ८ हजार र ३५ वर्षमाथि डबल्स्, ४५ वर्षमाथि एकल विधा तथा Inter-Governmental डबल्स् विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. २५ हजार, १३ हजार र ७ हजार, ४५ बर्ष माथि डबल्स् तथा ५५ बर्ष माथिका एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. २० हजार, १० हजार र ५ हजार एवं ५५ बर्षमाथिका डबल्स् र ६५ बर्षमाथिका एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार रु. १५ हजार, ८ हजार र ४ हजार सहित ट्रफी एवं प्रमाण-पत्र प्रदान गरिनेछ ।

उक्त समुद्‍घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणा, विभिन्न टेनिस क्लबहरुका अध्यक्षहरु, सञ्‍चारकर्मीहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस किसिमको खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा थप टेवा पुग्नुका साथै नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.