धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

रिपोर्ट नेपाल | 2021 Dec 06 | 07:52 am 1533

काठमाडौं, मंसिर २०ः सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ ।

पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरी कानुनी दायरामा ल्याउने क्रम बढाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

छलीमा संलग्न व्यापारीमाथि ४५ करोडको मुद्दा

अनुगमन तथा निगरानीलाई तीव्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरी करोडौं रुपैयाँ राजस्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गर्न सफल भएको छ ।

विभागका अनुसार रूपन्देही जिल्लाको समरीमाही गाउँपालिका–६ स्थित कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोदकुमार गुप्ताले २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ राजस्व छलेको पाइएपछि त्यसको दुई गुनाबराबरको ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ मागदाबीसहित विभागले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको जनाएको छ ।

सो सप्लायर्सका सञ्चालक गप्ता र अर्का आरोपी गोविन्दकुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अरूकै फर्मको नामबाट सामान खरिद गरी ती सामान विभिन्न व्यक्तिलाई बिक्री गरी त्यसको लेखांकन नगरी मूल्य अभिवृद्धिकर तथा आयकर छली गरेको आरोप विभागको छ । उनीहरूले मूल्य अभिवृद्धिकरतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेको विभागको दाबी छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले विभागका अनुसन्धान अधिकृतको विशेष निगरानीका कारण राजस्व छलीमा संलग्न व्यक्ति तथा फर्महरूलाई धमाधम कानुनी दायरामा ल्याउने काममा सफलता मिलेको बताए ।

विभागका अनुसार राजस्व छलीमा संलग्न उनीहरूको सो फर्मले मूल्य अभिवृद्धि करतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन ऐन २०५२ को दफा २३ को उपदफा १ बमोजिम छली गरिएको रकमबराबरको बिगो र सोही बिगोको शतप्रतिशत जरिमाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसअघि पनि विभागले फल्स बटम बनाएर, नक्कली विजक बनाएर र विभिन्न व्यक्ति तथा मजदुरको नाममा नक्कली फर्म खोलेर करोडौं रुपैयाँ राजस्व छल्नेहरूलाई विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । हालसम्म यस्ता अनेक तरिका अपनाएर गरिने राजस्व छलीका घटनाको संख्या पनि हजारौं भइसकेको विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.