महोत्तरी, मंसिर १६ः जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका सामानसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रेमसागर रायलाई पक्राउ गरेको छ । कुरियरगरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बुद्धमाला ४ सय थान, तामाको प्लेट १४ थान, मन्दिरको कलात्मक सामान ३६ थान, त्रिकोण बक्स १ थान, नेपाली राहधानी ३ थान, कुमारी बैंकको पाँच लाखको बाउन्स चेक एक थान तथा
विदेश जानको लागि चाहिने विभिन्न कागजपत्रहरुसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
गाँजासहित पक्राउ
सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बागमती नगरपालिका ८ बस्ने २१ वर्षीय कवान तामाङ्ग रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
काठ बरामद
बर्दिया जिल्लाको गुलरिया नगरपालिका १० स्थित भाँदा नदि किनाराबाट सशस्त्र प्रहरीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय ५० क्यूफिट सिमलको काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
चोरीपैठारीको लत्ताकपडा बरामद
धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला
दुवै मोटरसाईकल समेत बरामद गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा
बुझाईएको छ ।