काठमाडौं, मंसिर १४: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष अोलीले १८ सय ४० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रावलले २ सय २३ मत प्राप्त गरेका छन्। ३३ मतपत्र खाली रहेकाे छ।
उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।
मंसिर १० देखि १२ गतेसम्म चल्ने भनिएको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा सर्वसहमति नभएपछि थप दुई दिन लम्बिएको थियो। लामो मतभेदपछि केही पदमा सर्वसहमति गर्दै अध्यक्ष, उपाध्यक्ष, सहसचिव र खुलातर्फको केद्रीय सदस्यमा निर्वाचन भएको थियो। सोमबार अबेर रात सुरु भएको मतदान मंगलबार बिहानसम्म चलेको थियो।
यस्तै, नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक चितवनको सौराहामै हुने भएको छ।