विराटनगर, साउन ७: विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन्।
सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ।
करीब आठ घरपरिवार सो स्थानमा लगभग ३० वर्षदेखि बस्दै आएका छन् भने उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको पीडितले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
उचित बासको व्यवस्था नगरी घरटहरा हटाउन पठाएको निर्देशनले मानसिक तनाव बढेको र संविधानले दिएको नागरिकको आवासको अधिकार हनन भएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
पीडित हसिना खातुन, मो साहाजाद, मो जमिल, मो एकदिल, मो रियाज, मो झांगिर, फारुक खां र सोमनी कामतले एकै स्वरमा हामीलाई वडा कार्यालयले अन्याय गर्नु हुँदैन भन्दै आवाज उठाए ।
श्रीनगर टोल संगठनका अध्यक्ष लक्ष्मी खड्काले पीडितलाई उचित व्यवस्थापन नगरी वडा कार्यालयको एकल निर्णय प्रजातान्त्रिक नभएको बताए।