सबैभन्दा लामो अनशन: स्वास्थ्य अवस्था थप कमजोर, सरकारी पक्ष मौन

| 2018 Jul 23 | 07:18 am 3626

काठमाडौं, साउन ७: २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको यसपटकको आमरण अनशन सबभन्दा बढी दिनको भएको छ। यसअघि उनी तेह्रौं अनशन २३ दिन बसेका थिए। उनको अनशन आज ( सोममबार) २४ दिन पुगेको छ।

डा केसीको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन्। सरकारले जुम्लाबाट आफूलाई अपहरण शैलीमा ल्याएको भन्दै केसीले राजधानी आएदेखि नै स्वास्थ्य जाँच गराउन अस्वीकार गर्दै आएका छन्।

सरकार र डा. केसीबीच आइतबार पनि औपचारिक/अनौपचारिक वार्ता हुन सकेन। डा. केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै पहल नभएको बताए। सरकारी टोलीका कुनै प्रतिनिधि पनि उनको स्वास्थ्य अवस्था बुझ्‍न अस्पताल गएका छैनन्। सरकारी पक्षले अपहरण गरेर काठमाडौं ल्याएपछि वेवास्ता गरेको केसी पक्षको आरोप छ।

यसैबीच क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, पूर्वमन्त्री गोपाल किराँती, मानव अधिकारवादी नेता कृष्ण पहाडीले आइतबार अनशनस्थल पुगेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए। ‘हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन’, सचिव बरालले भने, ‘वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन।’

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उनलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया