मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न बानियाँकाे आग्रह

| 2021 Nov 19 | 05:25 pm 1245

काठमाडौं, मङ्सिर ३ः नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ को प्रदेश अधिवेशन आज उद्घाटन गर्दै सभापति बानियाँले पार्टीभित्रको एकतालाई कायम राखेर मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन् । “अधिवेशनले पार्टीभित्र विग्रह ल्याउने काम नहोस्, तिक्तता होइन, आपसी एकता निर्वाचनले कायम गरोस्”, उनले भने । सामूहिकरुपमा सङ्गठनलाई अगाडि बढाउनसमेत बानियाँले आम नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारीले आमनिर्वाचनमा कांग्रेसलाई बलियो बनाउने खालको नेतृत्व पार्टी अधिवेशनले छनोट गर्नुपर्ने बताए । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशसभामा एकैसाथ निर्वाचन भइरहेको छ । आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.