मुगु, कात्तिक ३०ः मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । आगलागीमा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर भत्काइएको हाे ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।
सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा लिएको महतले जानकारी दिए । साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको उनको भनाइ छ । आगलागीमा मानवीय क्षति भएको छैन । क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेकाे छ ।